चिडियाखानामा बर्ड फ्लू लुकाएको आरोपमा प्रमुख साह पदमुक्त
June 20, 2026
असार ६, काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ‘बर्ड फ्लू’ को सङ्क्रमण पुष्टि भएको विषय गुपचुप राखेको गम्भीर आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह पदमुक्त हुनुभएकाे छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा कोषका अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई जिम्मेवारीबाट हटाइएको हो। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाह जस्तो संवेदनशील विषयमा चरम लापरबाही गरेको भन्दै कोषले साहलाई केन्द्रीय कार्यालयमा तानेको छ भने चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई सुम्पिएको छ।
चिडियाखानामा करिब १० दिनअघि देखि नै पन्छी र जनावरहरू मर्न थालेको भए पनि तत्कालीन प्रमुख साहले यसबारे माथिल्लो निकायलाई कुनै जानकारी दिएकाे थिएन। चराचुरुङ्गी र वन्यजन्तु मर्ने क्रम नरोकिएपछि पशु सेवा विभागमा गरिएको नमूना परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो। यस्तो महामारीजन्य संवेदनशील विषय बेलैमा ‘रिपोर्टिङ’ नगरेको भन्दै कोषले प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा. मधु क्षेत्री सदस्य रहेको उक्त समितिलाई एक हप्ताभित्र स्थलगत छानबिन गरी विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।